08/05/2026
सन्दर्भ: "खरानी ग्याङ"
अहिले सामाजिक सञ्जालमा एउटा नयाँ र निकै "viral" ट्रेन्ड देखिएको छ - "खरानी ग्याङ"। अनि यो ग्याङको 'लिडर' को पगडी चाहिँ निश्चल बस्नेतलाई भिराएर उनको आउँदै गरेको फिल्म "लाली बजार" बहिष्कार गर्ने अभियान नै चलेको रहेछ। फिल्मसँग सम्बन्धित हरेक पोस्टको तल "बहिष्कार" को नारा देख्दा एउटा कुरा चाहिँ प्रस्ट हुन्छ - हामी निकै अनुशासित समाज बन्दै छौँ।
हाम्रो बुझाइमा कलाकार भनेको मन्दिरको त्यो मूर्ति जस्तै हुनुपर्छ, जसले पर्दामा हाँस्न, रुन र नाच्न त पाओस्, तर पर्दाबाहिर निस्किएर "म पनि यो देशको नागरिक हुँ" भन्ने हिम्मत चाहिँ नगरोस्। कलाकारको काम त मनोरञ्जन दिने मात्रै हो नि, होइन र? उनीहरूले आफ्नो विवेक प्रयोग गर्नु वा समाजको बारेमा सोच्नु त हाम्रो "मनोरञ्जन" मा बाधा पुर्याउनु जस्तै भयो। आखिर एउटा कलाकारलाई आफ्नो विचार राख्ने "लक्जरी" कसले दियो?
कुरा रह्यो, 'जेन-जी' (अहिले त यो शब्द सुन्दा पनि अलि कस्तो-कस्तो लाग्न थालिसक्यो) आन्दोलनमा निश्चलको सहभागिताको। एउटा स्वतन्त्र नागरिकले देश बदलियोस् भनेर आवाज उठाउनु वा सडकमा आउनुलाई हामीले सिधै 'षड्यन्त्र' देख्नुपर्छ। हाम्रो तर्क कति बलियो छ भने - आन्दोलनमा सहभागी हुने जति सबै 'खरानी ग्याङ', अनि जो सकुशल घर फर्किए ती झन् ठूला अपराधी! के आन्दोलन सफल हुनका लागि सबै सहिद नै हुनुपर्ने हो? वा अंगभंग नै हुनुपर्ने हो?
हो, आन्दोलनमा नसोचेको क्षति भयो, त्यो दुखद छ। तर हजारौँको भीडबाट चिनिएका केही अनुहारलाई टिपेर सबै दोषको भारी उनीहरूलाई नै बोकाइदिनु कति न्यायोचित होला? अनुसन्धान त पक्कै होला, हुनुपर्छ। त्यो आक्रोश नियन्त्रणबाहिर गएको हो कि नियोजित थियो भन्ने कुरा समयले बताउला। तर कुनै व्यक्तिलाई तारो बनाएर उसको करियर नै सिध्याउन लाग्नु चाहिँ अलि बढी नै "सभ्य" काम भएन र?
हामी नजानिँदो तरिकाले यस्तो समाज बनाउँदै छौँ, जहाँ हामी आफ्नै "Echo Chamber" भित्र थुनिएका छौँ - जहाँ हामीलाई मन पर्ने गाली र अफवाह मात्र गुञ्जिन्छन् र हामीलाई लाग्छ कि संसार नै यही हो। यहाँ आफूभन्दा हल्का फरक तर्क गर्ने बित्तिकै मान्छेहरू अरिंगाल झैँ जाइलाग्छन्। न कुनै तर्क, न कुनै प्रति-प्रश्न। सिधै व्यक्तिगत गाली र बहिष्कारको अस्त्र! कुनै मान्छेलाई वैचारिक रूपमा हराउनु भन्दा उसलाई सामाजिक र आर्थिक रूपमा सिध्याउन खोज्नु कति सजिलो उपाय! लाग्छ, हामीलाई "किन र कसरी?" भनेर सोच्नु भन्दा कसैले देखाएको बाटोमा आँखा चिम्लेर कुद्नुमा बढी आनन्द आउँछ। हामीलाई यस्तो भीडको हिस्सा बन्नुमा गर्व छ जहाँ अगाडिको भेडो जता फर्कियो, उतैतिर लुरुलुरु कुदिन्छ र आफ्नो बाटो आफैँ खोज्नेलाई चाहिँ सिध्याउन खोजिन्छ।
सिधै 'बहिष्कार' को बटन थिच्नु अघि एकपटक सोचौँ, विचार गरौँ र सक्नुहुन्छ भने तर्कले डिबेट गरौँ। कि "ignorance is bliss" भनेर न्यानो मानेर "भेडा"कै बथानमा सुत्ने हो?