17/09/2026
नेपालीले संचालन गरेको पोर्चुगलको रेष्टुराँ पुनः विश्वकै Top रेष्टुराँहरुको सूचिमा परेको छ । नेपाली ब्यवसायी टंक सापकोटाले संचालन गर्नु भएको Forno d'Oro अर्थात सुनको चुल्हो नामक पिज्जा रेष्टुराँ विश्वका 50 Top Pizza world 2026 मा परेको हो ।सापकोटाले केही दिन अघि आफ्नो परिवारको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.५१,११,१५१ ( एकाउन्न लाख एघार हजार एक सय एकाउन्न ) सहयोग हस्तान्तरण गरेका थिए ।
हामीले कार्यक्रमको पहिलो सिजनमा पहिलो भागमा उनको कथा देखाएका थियौं । पोर्चुगलका सिमित विदेशी मध्ये उनी एक हुन्, जसको बारेमा त्यहाँको मिडियाले नियमित कभरेज गरिरहेका हुन्छन् । उनी इटालियन खानाका एम्बासडर हुन् र पोर्चुगलमा चार वटा रेष्टुराँ संचालन गरिरहेका छन् । जसमध्ये तीनवटा इटालियन र एउटा नेपाली रेष्टुराँ छ । उनका रेष्टुराँहरु सामान्य या औसत खालका छैनन् । चार वटै रेष्टुराँका आ आफ्नै विशेषता छन् र उच्च स्तरका छन् । उनले संचालन गरेको कासा नेपालेजा भन्ने रेष्टुराँमार्फत युरोपियनहरुलाई नेपाली स्वादमा लोभ्याइरहेका छन् । नेपाली संस्कृति र भेषभुषाको प्रचार प्रसार गरिरहेका छन् । गत वर्ष सापकोटाले पोर्चुगलमै ट्फल (विशेष महंगो च्याउ) रहेको प्रमाणित गरेपछि उनको चर्चा झनै चुलिएको थियो । ट्फल पाइने सिमित रेष्टुराँमध्येमा पर्छ उनको रेष्टुराँ ।
अर्को चाखलाग्दो विषय भनेको उनका रेष्टुराँका ग्राहकहरु हुन् । पोर्चुगलका राष्टपतिदेखि प्रधानमन्त्रीसम्म र गन्यमान्य सेलिब्रेटी उनको रेष्टुराँका ग्राहक बनिसकेका छन् । उनीहरुसंग सापकोटाको राम्रो सम्वन्ध पनि छ ।
सामाजिक सेवामा पनि सापकोटा निकै अगाडि छन् । उनले कोरो्ना कहरमा रोजगारी गुमाएका तथा समस्यामा परेका १० हजार भन्दा वढीलाई एक महिनासम्म निशुल्क खाना खुवाए, त्यो पनि आफ्नै रेष्टुराँको गुणस्तरको । त्यस वाहेक उनले गरेका सामाजिक कामको सूचि लामै हुन्छ ।
सापकोटा भनछन् सफलताको मुख्य आधार भनेकै सेवाको गुणस्तर हो । त्यसैले पछिल्लो एक दशक यता उनले आफ्नो ब्यवसाय विस्तार गरेका छैनन् । किनकि, भएका रेष्टुराँहरुको गुणस्तर जोगाइराख्नु र अझै सुधार गर्नु उनको प्राथमिकता हो ।
सन् १९९२ मा रोजगारी खोज्दै खाली हात युरोप छिरेका थिए उनी । सुरु सुरुमा उनले रेष्टुराँहरुमा भाँडा माझ्ने काम समेत गरेका थिए । कुनैै बेला दिनकै १५ घण्टासम्म भाँडा माझ्ने सापकोटालाई कुनै पनि कुरा सिकिहालौं, जानिहाँलौं भन्ने हुटहुटीले अघि वढायो ।
सन् १९९६ मा पोर्चुगल पुगेपछि ब्यवसायिक यात्रा सुरु गरेका सापकोटाले संसार वुझेका छन् । उनले ब्यवसाय सुरु गर्दा पोर्चुगलमा उच्च गुणस्तरका खाना पाउने रेष्टुराँहरु थिएनन् त्यही अभावमा उनले अवसर देखे ।
उनी भन्छन्, नेपाली खानालाई विश्वमाझ चिनाउनु आफ्नो मुख्य सपना हो । विश्वका कतिपय देशले आफ्नो खानालाई ब्राण्डको रुपमा स्थापित गरिरहेका छन् । नेपालले पनि आफ्नो मौलिकतालाई विश्वमाझ चिनाउन सक्छ र त्यसको लागि जस्तोसुकै योगदान दिन तयार रहेको सापकोटा बताउँछन् । उनी भन्छन्, जहाँ जे कुराको संभावना छ त्यसमै केन्द्रित हुनुपर्छ । अहिले विश्वका मानिसहरु तनावमा छन् । उनीहरुका लागि राहत मिल्ने ठाउँ बन्न सक्छ नेपाल । बुद्धको देश र भगवान शिवको देश नेपाललाई विश्वकै ध्यान केन्द्रको रुपमा विकास गर्न सकिन्छ र कामदार मात्रै होइन गुरुहरु जन्माउन सकिन्छ भन्ने उनको विश्वास छ ।