15/10/2021
कविता
प्रदेशीको दशै
सबै घरमा भेला भयो होला
आशिर्वाद थाप्दै,
निधारमा भरि टीका लाउदै होला
आँगन डिलहरुमा सयपत्रीका मुनाहरु फ्रक्रिदै होला
खेतभरि धानको बाला लह- लह झुल्दै होला
गाँवलेहरु रमाइलो गर्दै घुम्दै होला।
बर्षौ हराएका अनुहारहरु देखिका होलान
गाँव छाडेकाहरु पनि आएका होलान
जिन्दगीको दुःख भुलेर विश्राम गर्दै होलान
बच्चाहरु दक्षिणा पाएर गन्दै होलान
बुडा पाकाहरु अक्षेता, अविर जमरा लगाउदै
"दुर्गामाता दाहिने होस, रोग हटोस्
दिर्घायुहोस" यस्तै के-के भन्दै होलान।
तर म त प्रदेशी
मुटुभित्र गाँव बोकेर
" होला र होलान" भन्दै टाढामा छु
फर्किन सकिन घर, यस टिकामा पनि
यहाँ टिकाबिनाको रित्तो निधारमा छु
देश सुरक्षा लागि सिमानामा खटिएको सपाही होइन म
कार्यलयबाट विदा नपाएको जगिरे पनि होइन म
कहिले गाँव नर्फकने गरि भौतारिएको छोरा होइन म
संस्कृति र परम्परा भुलेर
पुर्खाको मानेको प्रथा लतियाएर
मातिएको वेवारिसे पनि होइन म
आफुले टेकेको माटो छाडेर
भोगेको समाजलाई बिर्सेर
नयाँ भुगोलको खोजमा निस्केको
कोलम्बस र भास्को-डा -गामा पनि होइन म
बस! म एक सामान्य प्रदेशी
एउटा सपना बोकेर हिडेको यात्री
करुणा, सत्य र प्रेमको
संदेश बाँड्न लागेको यात्री
जसले गाँवको माया मनमा बोकेर
धरतीलाई बिछ्यौना ठानेको छ
जसले ताराहरु हरेर
आकाशलाई सिङ्गो छाना मानेको छ।
श्रद्धीय सेमिङ गुरु (भारत) |
Source:Semming Guru India Page