07/09/2026
प्रेस विज्ञप्ति
सिटिजन एक्सन पार्टी–सिक्किमद्वारा ०३ मानेबुङ–देन्ताममा अध्यक्षको दुई दिवसीय क्षेत्र भ्रमण सम्पन्न
मानेबुङ–देन्ताम, ७ सेप्टेम्बर २०२६:
सिटिजन एक्सन पार्टी–सिक्किम (CAP–S) का पार्टी अध्यक्ष श्री गणेश राईको नेतृत्वमा ६ र ७ सेप्टेम्बर २०२६ मा ०३ मानेबुङ–देन्ताम निर्वाचन क्षेत्रमा दुई दिवसीय क्षेत्र भ्रमण तथा जनसम्पर्क कार्यक्रम सम्पन्न भएको छ।
भ्रमणमा पार्टीका उपाध्यक्ष तथा संगठन प्रभारी किरण जिम्बा, उपाध्यक्ष डी.बी. स्टिफन गुरुङ, प्रवक्ता अल्बर्ट गुरुङ लगायत अन्य वरिष्ठ नेताहरूको सहभागिता रहेको थियो। यस क्रममा अध्यक्ष राईले हिगाँउ, साङ्खु, देन्ताम, इन्टेक, मिलिङ र सोपाखा लगायतका स्थानमा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नुभयो।
अन्तरक्रियाका क्रममा स्थानीय जनताले जिर्ण सडक, पूर्वाधार तथा स्वास्थ्य सेवाको कमी, रोजगारीको समस्या, आर्थिक कठिनाइ तथा गाउँ–गाउँसम्म देखिएको भ्रष्टाचार र पारदर्शिताको अभाव जस्ता विषयहरू उठाएका थिए। अध्यक्ष राईले जनताका समस्या र गुनासाहरू ध्यानपूर्वक सुन्दै राजनीति जनताको दैनिक जीवन र संघर्षसँग प्रत्यक्ष जोडिनुपर्नेमा जोड दिनुभयो।
जनसम्पर्क कार्यक्रमपछि पार्टीका नेता तथा कार्यकर्ताहरूसँग सांगठनिक, वैचारिक तथा रणनीतिक छलफल गरिएको थियो। विभिन्न क्षेत्रका कार्यकर्ताहरूले संगठनको अवस्था र गतिविधिबारे प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्यदिशाबारे छलफल गरेका थिए।
कार्यक्रममा सल्लाहकार पुन्यप्रसाद खतिवडा, महासचिव प्रकाश पराजुली, मिडिया सेल समन्वयक सोनाम ग्याछो लेप्चा, उपाध्यक्ष रामचन्द्र राई, ०३ मानेबुङ–देन्ताम क्षेत्र अध्यक्ष अर्पण लिम्बु, महिला परिषद् उपाध्यक्ष श्रीमती दिलमति लिम्बु लगायत सयौँ नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
सम्बोधनका क्रममा अध्यक्ष गणेश राईले सबै नेता तथा कार्यकर्तालाई जनतासँग निरन्तर जोडिएर उनीहरूका समस्या र आवाजलाई प्राथमिकताका साथ उठाउन आह्वान गर्नुभयो। उहाँले संगठनलाई अनुशासित, एकताबद्ध र जिम्मेवार बनाउँदै राजनीतिक सुधारको अभियानलाई तल्लो तहसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो।
दुई दिवसीय भ्रमणले ०३ मानेबुङ–देन्ताममा सिटिजन एक्सन पार्टी - सिक्किमको को संगठनलाई थप सक्रिय, एकताबद्ध र जनमुखी बनाउने प्रतिबद्धतालाई थप बल दिएको छ।
अर्पण लिम्बु
अध्यक्ष, ०३ मानेबुङ–देन्ताम निर्वाचन क्षेत्र
सिटिजन एक्सन पार्टी–सिक्किम ।