08/07/2021
युनियन लाइफ इन्सुरेन्सको आइपीओ, कस्तो छ कम्पनीको अवस्था !
युनियन लाइफ इन्सुरेन्सले बिहीबार (आज २४ गते) बाट आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । यसमध्ये ५% (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डका लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा असार २८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा साउन ७ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले युनियन लाइफलाई ‘इक्राएनपी आइआर बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने जनाउँछ । इक्राले सन् २०२१ मे १७ मा उक्त रेटिङ दिएको हो । यो रेटिङ सन् २०२२ मे १६ सम्म बाहल रहनेछ ।
कति कित्ता सेयर भर्ने ?
पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या २० लाख भन्दा बढी पुग्न थालेको छ । बुधबार बाँडफाँट भएको जीवन विकास लघुवित्तको आइपीओमा हालसम्मकै उच्च २० लाख ८७ हजार ३१७ जना लगानीकर्ताले आवेदन दिएका थिए । यस्तै, सोमबार (असार २१ गते) बिक्री बन्द भएको मनकामना स्मार्ट लघुवित्तको आइपीओमा पनि २० लाख ३६ हजार २४५ जनाले आवेदन दिएका छन् ।
तसर्थ, विगतमा परेको आवेदनलाई आधार मान्ने हो भने युनियन लाइफको सेयर पाउन पनि लगानीकर्ताले भाग्यमै भर पर्नुपर्ने अवस्था आएको छ । यस कम्पनीले सर्वसाधारणका लागि ५८ लाख ५ हजार कित्ता निष्कासन खुला गरेको हो । यसआधारमा, न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा ५ लाख ८० हजार ५०० जना लगानीकर्ताले मात्र यो आइपीओ हात पार्ने देखिन्छ ।
तसर्थ, युनियन लाइफको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पर्याप्त हुने देखिन्छ । यद्दपि, यस कम्पनीले भने न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
कम्पनी सम्बन्धी विवरण
युनियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत स्थापित भई बिमा ऐन, २०४९, बिमा नियमावली २०४९ बमोजिम बिमा व्यवसायको कारोबार गर्ने इजाजत प्राप्त संस्था हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय सिद्घार्थनगर नगरपालिका वडा न. ८, रुपन्देहीमा रहेको छ । कारोबार गर्ने मुख्य स्थान काठमाडौ महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वर काठमाडांैमा रहेको छ ।
युनियन लाइफ विसं २०७४ असोज ४ गतेदेखि बिमा व्यवसाय गर्दै आइरहेको छ । हाल यस इन्सुरेन्सले विभिन्न शाखा तथा उपशाखा गरी २०४ वटा कार्यालयबाट बिमा सेवा प्रदान गरिरहेको छ । आवश्यकता अनुसार सम्बन्धित निकायको स्वीकृती लिई स्वदेश भित्र शाखा तथा उपशाखा कार्यालय स्थापना गरी कारोबार गर्न सक्नेछ ।
पुँजी संरचना र वित्तीय प्रक्षेपण
युनियन लाइफ इन्सुरेन्सको अधिकृत पुँजी २ अर्ब १५ कारोड रुपैयाँ र जारी पुँजी पनि २ अर्ब १५ करोड रुपैयाँ नै रहेको छ । जारी पुँजीमध्ये १ अर्ब ५० करोड ५० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागिएको हो । आइपीओपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।
आइपीओ बिक्रीपछि कम्पनीमा संस्थापक हिस्सा ७०% र सर्वसाधारण हिस्सा ३०% हुनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म युनियन लाइफले ८ करोड ९५ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७८–७९ मा १३ करोड ३९ लाख ४९ हजार रुपैयाँ र आव २०७९–८० मा १८ करोड ८३ लाख २० हजार रुपैयाँ नाफा कमाउने अनुमान छ ।
कम्पनीले तत्काल पुँजी वृद्धि गर्ने कुनै पनि योजना बनाएको छैन । आव २०७९–८० सम्म आइपीओ बिक्रीपछि कायम हुने २ अर्ब १५ करोड रुपैयाँ पुँजी नै यथावत रहने प्रक्षेपण छ । यता, चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी ४ रुपैयाँ १७ पैसा पुग्ने प्रक्षेपण रहेको छ ।
यस्तै, आर्थिक वर्ष २०७८–७९ मा प्रतिसेयर आम्दानी ६ रुपैयाँ २३ पैसा र आव २०७९–८० मा ८ रुपैयाँ ७६ पैसा पुग्ने अनुमान रहेको छ । साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा र आव २०७८–७९ मा १४२ रुपैयाँ ७५ पैसा पुग्ने अनुमान रहेको छ ।
व्यवस्थापन तथा आधारभूत सेयरधनीहरु
युनियन लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मनोज कुमार लाल कर्णले सम्हालेका छन् । कर्णले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । कर्णसँग बिमा क्षेत्रमा २० वर्ष भन्दा बढी अवधी कार्य गरेको अनुभव रहेको छ । उनले निर्जीवन तथा जीवन बिमा कम्पनीको उच्च व्यवस्थापन तहमा रहेर कार्य गरेको कम्पनीले जनाएको छ । यता, यस कम्पनीमा १३ जना आधारभूत सेयरधनीहरु रहेका छन् ।
जसमध्ये सबैभन्दा धेरै शेखर गोल्छाले ३० लाख र शाहिल कुमार अग्रवालले पनि ३० लाख कित्ता सेयर होल्ड गरेका छन् । यस्तै, शुलभ अग्रवालले २७ लाख १५ हजार कित्ता सेयर होल्ड गरेका छन् । हाल कम्पनीको सञ्चालक समितिमा अध्यक्ष शुलभ अग्रवालसहित सीमा गोल्छा, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल र स्वतन्त्र विज्ञ संचालकको रुपमा देवी प्रसाद शर्मा रहेका छन् ।