04/03/2026
चिन्नुहुन्छ ??
अत्यन्त प्रिय गायिका । कति मीठो आवाज ।
भारतीय उपमहाद्विपकी एक चर्चित पार्श्वगायिका जसले हिन्दी, नेपाली, मराठी, गुजराती, तमिल, तेलुगु लगायत धेरै भाषामा हजारौँ गीत गाएकी छन्। उनको जन्म ७ मार्च १९६९ मा भारतको मुम्बईमा भएको हो ।
खासमा उनको र हाम्रो करिअर सँगसँगै सुरु भएको हो । उनको गाउने, हाम्रो सुन्ने । हाम्रो बाल्यकाल नै उनका गीतसँगै हुर्केको हो । ५२/५३ सालतिर हुनुपर्छ, खै किन हो धोबेन तिर जाँदा गाविसको प्राङ्गणमा थुप्रो मान्छे भेला भका थे । ला...मो सोलीजस्ता हुन्थे माइक त्यो बेला, लाष्टै च्याँठिएको आवाज आउने । त्यसमा फ्याट्ट गीत बज्यो...सपना भई आँखामा आउने ।
हाम्रा अलि प्वाँख पलाइसकेको थेन तर प्वाँख पलाइसकेकाहरू खुब नाथ्थे छमछम पारेर.. डाली डाली फूल फूल्योम...आहा !
बोसी भन्थे एकजना गाउँले दिदीको नाम । ५४/५५ सालतिर होला एकजना गाउँले दिदीको बे थ्यो, बोसी भन्थे उनको नाउँ होला । त्यो बेलासम्म टडकमा जन्ती जाने चलन थ्यो । टडकको टाउको माथि बस्ने मान्छेको जस्तो शान त ऐले एलन मस्क्विटोको रकेटमा बसेर चन्द्रमा जानेहर्को पनि हुँदैन ।
त्याँ गीत बज्यो....कसरी भनुँ म मनको कुरा यो ।
५८ सालतिर होला लहनाले जुरायो कि भन्ने गीतले तहल्का मच्चायो । यस्ता सम्झना कति छन् कति । पछि था भो यी सबै गीत त यिनै दिदीले पो गाउनुभा रैछ ।
पछि हामीले सुनेको सुनेकै गर्यौँ, उहाँले गाकोगाकै गर्नुभो ।
मेरो निन्द्रा भोक तिर्खा,
मखमली माया दिउँला,
यो साँझ यो सुवास,
किन मन हुन्छ चञ्चल हो..ट्याउँ..,
सप्तरङ्गी फूलै फूल्यो,
धड्कन भित्र लुकाइदेउ न,
गुराँस फूल्दा वनै रमाइलो,
आज बाह्र हाते पटुकीको कुरा गर मायालु... कति सुनियो कति । हाम्ले सुनेरै यी गीतहरू हिट भएका हुन् ।
धेरै पछि मुगलान गएर फर्किनेहरूले थ्री पिस डेग भन्थे त्यो ल्याउन थाले । फनफनी घुम्ने पाङ्ग्रे चक्का हालेर गाउँमा हिन्दी गीतहरू बज्न थाले । कुमार सानु, उदित, अभिजितहरू काकाबडाउ जस्ता लाग्न थाले । गाउँमा बिहानै भजन जसरी झाँ झरिया, जरा जरा, तु चिज बडी हे मस्त मस्त, जब कोई बात बिगड जाये, यारा ओ यारा मिलना हमारा, सात समुन्दर पार मेँ तेरे बज्न थाले ।
यो जब कोई बात बिगड जाये,
सात समुन्दर,
हम ऐसे करेङ्गे प्यार के दुनियाँ याद करे,
क्या मौषम आया है,
पेहेला नशा,
प्यारके कागज पे दिलके कलम से जस्ता गीतका शब्द, लय मात्र नभएर त्यसमा बज्ने धुन समेत कण्ठ हुन थाल्यो । यी सबै गीत पनि उहाँ दिदीले नै पो गाउनुभा रैछ ।
समग्रमा, हाम्रो बाल्यकालकी साथी हुन् । हामीले नै उनलाई हिट बनाएका हौँ । जन्मदिनको हार्दिक शुभकामना छ ।