29/03/2025
प्रदर्शन हिंसात्मक, २ जनाको मृत्यु, ११० घाइते, ज्ञानेन्द्र शाहका ‘कमान्डर’ दुर्गा प्रसाईं फरार
काठमाडौँ —राजावादीको ढुंगामुढा, आक्रमण र आगजनीसहितको हिंसात्मक आन्दोलनमा दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित १ सय १० घाइते भएका छन् । मृत्यु हुनेमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जन छन् ।
प्रत्यक्ष प्रसारणका लागि भिडियो खिचिरहेका पत्रकार रजक बसेकै घरमा राजावादीले आगजनी गरेपछि जलेर मृत्यु भएको हो ।
सुमो चालक कीर्तिपुरका महर्जनको भने कोटेश्वरस्थित प्रहरी प्रभागमा ढुंगा प्रहार गरेर आगजनीे प्रयास गर्दा प्रहरीले चलाएको गोली लागेर ज्यान गएको हो ।
घाइते हुनेमा नेपाल प्रहरीका ५३, सशस्त्रका २२ र राजावादी ३५ जना छन् । घाइतेमध्ये ९ जनालाई गोली लागेको छ । तीमध्ये एकको अवस्था गम्भीर छ । रबरको गोली लागी घाइते भएका ५ जनाको निजामती कर्मचारी अस्पतालमा उपचार भएको छ । त्यहाँ उपचार गरिएकामध्ये एक जनाको आकस्मिक शल्यक्रिया गरिएको थियो । अन्यको अवस्था सामान्य छ । केहीलाई उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । गोली लागेका दुई जनाको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुईमध्ये २७ वर्षका एक पुरुषको पेटमा गाली लागेको छ ।
उनलाई आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको छ । अर्का एकको कुममा गोली लागेको र अवस्था सामान्य रहेको छ । गोली लागी घाइते अन्य दुई जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
उक्साएर आन्दोलन हिंसात्मक बनाएको भन्दै प्रहरीले रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल, सेफोर्ड लिम्बू र सन्तोष तामाङलगायत १७ जनालाई पक्राउ गरेको छ । आन्दोलनको ‘कमान्डर’ भनिएका दुर्गा प्रसाईं भने मोबाइल अफ गरेर राति अबेरसम्मै फरार छन् । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने घरमै नजरबन्द गरिएको छ ।
उग्र र अराजक राजावादीले इन्द्रेणी सहकारी रहेको भवनमा लगाएको आगो अर्को घरमा पनि सल्किएको थियो । तीनकुने क्षेत्रका दर्जन घरमा ढुंगा प्रहार भएका छन् । राजावादीले मिडिया हाउसमा समेत आक्रमण गरेका छन् । उनीहरूले तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालय र गैरीगाउँस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरेका हुन् । अन्नपूर्णमा आगजनीको प्रयाससमेत भएको थियो ।